News Griha :: न्यूजगृह
नेपालमा सेरोटाइप–२ स्वरुपको डेंगु अत्यधिक

काठमाडौं— नेपालमा डेंगुको संक्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो ।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए ।

महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उनले तीमध्ये सेरोटाइप–१ केहीमा र  सेरोटाइप–३ पनि देखिएको बताए ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ ।

एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने दाहालको भनाइ छ । अहिलेसम्म नेपालमा डेंगु संक्रमणका चारवटै स्वरुपका सेरोटाइप देखिएका छन् । एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ ।

‘चारैवटै सेरोटाइपको भिन्न भन्ने हुँदैन । जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ’,उनले भने,‘तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको संक्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।’

डेंगु संक्रमण दुई पटक लागेपछि बढी संक्रामक रहेको हुन्छ । ‘पहिलोपटक सेरोटाइप–१ डेंगुको स्वरूप देखिएको छ भने अर्कोपटक संक्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’,उनले भने,‘यसरी पुनःडेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’

शाखा प्रमुख डा.दाहालले पहिलोपटक लागेको सेरोटाइपले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सयल ८८ जनामा संक्रमण देखिएको छ । सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा देखिएको छ ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्ने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०६:००
Weather Update