News Griha :: न्यूजगृह
झापामा बढ्यो डेंगु संक्रमित, २३८ जनामा संक्रमण पुष्टि

काठमाडौं— पछिल्लो समय झापामा डेंगु संक्रमणका बिरामीको संख्या वृद्धि भएको छ । साउनको दोस्रो सातासम्ममा जिल्लामा २३८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईले बताए ।

झापाका विभिन्न पालिका र अस्पतालमा ८३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगु संक्रमणका बिरामी फेला परेको बताइएको छ । 

डेंगु संक्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।

सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेंगु संक्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार ७८४ डेंगु संक्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:२०
Weather Update