काठमाडौं— रुकुम पश्चिममा आँखा पाक्ने समस्याका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्दै गएको हो ।
केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिक रुपमा २२ जना आउने गरेको जानकारी दिए । उनका अनुसार यस्ता बिरामीमध्ये बालबालिका धेरै रहेका छन् । उनले भने, ‘बालबालिकामा आँखा पाक्ने समस्या धेरै देखिएको छ ।’
आँखा रातो हुने, चिलाउने, ज्वरो आउने, समस्या देखिने गरेको प्रमुख केसीले बताए । केन्द्रले संक्रमणबाट जोगिनका लागि संक्रमित व्यक्तिको नजिक नबस्न, भिडभाडमा नजान, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्न आग्रह समेत गरेको छ ।
त्यस्तै, औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नु पर्छ । अनावश्यक रुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि प्रमुख केसीले सुझाव दिए ।