News Griha :: न्यूजगृह
लम्पी स्किन नियन्त्रण गर्न बाग्मतीमा साताव्यापी खोप अभियान

हेटौँडा— बाग्मती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाई/भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा.सृजना वाग्लेले जानकारी दिइन् ।

अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सञ्चालन गरिने र दैनिकरुपमा खोप लगाइएका पशुको तथ्यांक संकलन गरी सार्वजनिकीकरणसमेत गरिने उनले बताइन् ।

त्यसको लागि सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनोट तथा नियुक्ति गरिसक्ने कार्यतालिका रहेको छ ।

साउन २० मा नै प्रदेश दुग्ध विकास बोर्डमार्फत दुग्ध क्षेत्रसँग सम्बन्धित संघ संस्थासँग खोप अभियानसम्बन्धी समन्वय बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

साउन २२ गतेभित्र सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप खरिद तथा भण्डारण तथा प्रचारप्रसार सामग्री तयारी र प्रसारण गर्ने र मन्त्रालयले खोप कार्ड, खोप अभियान लोगो, खोप अभिलेख फाराम, पम्पलेट तथा ब्रोसर छपाइ र वितरण गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:५४
Weather Update