News Griha :: न्यूजगृह
ट्राफिक कार्यालय सिरहाको राजस्व संकलनमा वृद्धि

सिरहा— आर्थिक वर्ष २०७९/८० मा सिरहाको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले २० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

ट्राफिक कार्यलय प्रमुख मीनबहादुर बस्नेतले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा कूल राजस्व संकलन तीन करोड ८४ लाख पाँच सय रहेको छ भने आर्थिक अघिल्लो वर्षमा तीन करोड १७ लाख ६२ हजार पाँच सय मात्र रहेको थियो । यो रकम अघिल्लो आवको तुलनामा ६६ लाख ३८ हजारले बढी हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व संकलन भएको बस्नेतले बताए ।

उनका अनुसार ट्राफिक प्रहरीले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

‘अघिल्लो वर्षको तुलनामा गत वर्ष हामीले सवारीसाधनको नियमित जाँच, कारबाही र अनुगमन बढाइएकाले यो राजस्व संकलन गर्न सफल भएका हौँ’, बस्नेतले भने,‘आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हामीले ट्राफिक सचेतनाका कार्यक्रम गत वर्षमा बढी नै गरेकाले सवारी दुर्घटनामा पनि कमी आउने अपेक्षा गरेका छौँ ।’

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:३२
Weather Update