News Griha :: न्यूजगृह
बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान

बुटवल— बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तर्क्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था र अस्पताललाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उनले बताए ।

छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेंगुबारेका सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेंगुका संक्रमितको सङ्ख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:२८
Weather Update