
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सन् २०२२–०२३ मा गरेर एक हजार ६१४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।
यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म ३२५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा १९१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै, कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा संक्रमण देखिएको हो । संक्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ ।
यसअघि गत वर्ष यस प्रदेशमा एक हजार २८९ जनामा संक्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र वर्षातको समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको जोशीले बताए । उनले भने, ‘गर्मी र वर्षातमा संक्रमण बढी देखिने गरेको छ, असोजसम्म बढी जोखिम हुन्छ ।’
डेंगु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्नेछ ।