News Griha :: न्यूजगृह
जन्मदेखि नै ढाडको बाँगोपना हुनसक्छ ! कसरी बच्ने ?

काठमाडौं— ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरूमा बढी देखिने विभिन्न अध्ययनले देखाएको छ । कूल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । २० डिग्रीभन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकको भनाइ छ ।

धेरैजसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरूलाई यो समस्या देखिने गरेको छ । ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । अस्पतालहरूबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको छ । तर, कतिपय आम नागरिकहरू भने यसमा अनविज्ञ छन् । 

ढाड बाँगिने रोगसँग केन्द्रित रहेर एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छेसँग ढाडको बाँगोपनासम्बन्धी गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

ढाडको बाँगोपन हुने समस्या के कारणले हुन्छ ?

एउटा जन्मजात नै हुन्छ । जन्मिदा नै ढाड बाँगो हुन्छ । अर्को किसिमको बाँगोपना कारण नै थाहा नहुने खालको हुन्छ । जसलाई इडियोप्याथी भन्छौं । त्यो धेरै जसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । यो चाहिँ छोराहरूभन्दा छोरीहरूलाई बढी देखिन्छ । सात जना छोरीमा देखियो भने एक जना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन । 

ढाड बाँगो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसहरुलाई थाहा पनि छैन । ए ! ढाड बाँगो भएछ, कसैकसैले त भगवानको श्रापले गर्दा भएको हो भन्ने गरेको पनि सुनिन्छ । त्यसैले उनिहरु उपचार नै नगरिकन त्यसै बसिरहेका हुन्छन् । त्यसैले यसको उपचार सम्भव छ । र, समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याहरुबाट बचाउन सकिन्छ । 

ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ । सानो उमेरमा नै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ ? एकछिन हिँड्दा पनि स्वाँस्वाँ हुन्छ । त्यो कुराहरु हामीले समयमा नै पत्ता लगाएर समयमै उपचार गर्न सक्यौँ भने उसको क्वालिटी अफ लाइफ नर्मल बनाउन सक्छौं ।

ढाडको बाँगोपन भएको कसरी थाहा पाउन सकिन्छ ?

सबैभन्दा सामान्य उपाय भनेको बच्चालाई हात जोडेर निहुरिन भन्नु पर्छ । हातले भुइँ छुन  कोशिस गरेजस्तै घुँडालाई सिधा राखेर । त्यसरी निहुरिदा अगाडिबाट अथवा पछाडिबाट विद्यालयमा शिक्षकहरुले हेरे पनि हुन्छ, आमा बुबाले घरमा हेरे पनि हुन्छ । 

त्यसरी हेर्दाखेरी ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभर अलिकति तल भएको देखिन सक्छ त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौँ । त्यो करङ नै रोटेट भएर आएको देखिन्छ, एउटा तल एउटा माथि । त्यो चाहिँ सबैभन्दा सरल उपाय हो । घरघरमा अथवा स्कुल स्कुलमा गर्न सकिन्छ । यदि, बाँगोपना देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नु पर्छ । त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं । एक्सरेले क्लियर गर्छ ।

उपचार कत्तिको खर्चिलो छ ?

हाम्रो एशोसिएशनमा दर्तावाल चिकित्सकको संख्या झण्डै एक सय जना हुनुहुन्छ । त्योबाहेक दर्ता नभएका झण्डै १५ जना हुनुहुन्छ । उहाँहरु सबै विज्ञ नै हुनुहुन्छ । हामीले एक्सरे गरेर हेरिसकेपछि बाँगोपना कति डिग्री रहेछ भनेर नाप्छौँ । यदि, २५ डिग्रीभन्दा सानो छ भने केही पनि गर्नु  पर्दैन । हामीले अब्जर्भ मात्रै गर्ने भनेर भन्छौँ । प्रत्येक ६/६ महिना वा वर्ष दिनमा फलोअप गर्छौं । 

यदि, बाँगोपना २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौँ । त्यसलाई प्रेस भनेर भन्छौँ । यदि, बाँगोपना ४० डिग्री भन्दा माथि छ भने अप्रेसन गर्नु पर्छ भनेर भन्छौँ । जे उपचार गरे पनि मुख्य कुरा मेरुदण्ड सन्तुलित हुनु पर्‍यो । हामी उभिँदाखेरी टाउकोको लेभल कम्मरको बीचमा पर्नु पर्‍यो । यदि, बाँगोपन धेरै छ भने अप्रेसन गर्छौं । अप्रेसन गर्दा रडहरू लगाउनु पर्छ । रडहरू विदेशबाट मगाउनु पर्छ । यो अलिकति महँगो पर्छ । विदेशमा उपचार गर्ने खर्च भन्दा झण्डै आधा भन्दा पनि कम खर्चमा उपचार हुन्छ ।

कुन उमेर समूहमा बढी देखिन्छ ?

यो धेरैजसो बच्चाहरुमा देखिन्छ । आमा बुबाले तेल लगाउन शुरु गरिसकेपछि ढाड बाँगो भएको देखिन्छ । यो चाहिँ एक्सरे हेरेर हड्डी चार कुने बन्नु पर्ने नबनेर तीन कुने बनेको हुन्छ । इडीयोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ । बच्चाहरु आफैँले नोटिस गरेका हुँदैनन् । आमा बुवाले नोटिस गर्नु पर्छ । कहिले कहीँ लुगा लगाएको फिटिङ हुँदैन । 

त्यसपछि थाहा हुन्छ । कहिले कहीँ शिक्षक, साथीहरुले थाहा पाउँछन् । फिटिङ नै भएन भन्छन् । चेक गरेर हेर्‍यो बाँगोपना रहेछ भन्ने थाहा हुन्छ । हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौं । स्कुलमा बाँगोपना भएका बच्चाहरु छन् की छैनन् भनेर पत्ता लगाउनका लागि स्कुल स्कुलमा गएर बच्चाहरुलाई इक्जामिनेसन गर्ने गथ्र्यौं ।

ढाडको बाँगोपना उपचार नेपालमा सम्भव छ ?

ढाडको बाँगोपना उपचार नेपालमा सम्भव छ । आज भन्दा १४/१५ वर्ष अगाडि टेक्नोलोजिको पनि विकास भइसकेको थिएन । विषय विज्ञहरू पनि थिएनन् । विषय विज्ञहरू डेभ्लप हुँदै गए, उनीहरुले आज आएर ढाडको कुनै पनि समस्या विशेष गरेर ढाडको बाँगोपना, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हात खुट्टा नचलेको लगायतको उपचार गर्न नेपालमा सम्भव छ । 

प्रविधिमा युरोप अमेरिकामा जति धेरै अघि छन् त्यहाँ त पुग्न नसकौँला तर, त्यो प्रविधिअनुसार उनीहरुको कस्ट पनि एकदमै धेरै नै छ । तर, हामीले जुन टेक्नोलोजी र एक्सपर्टीजले नेपालमा सुविधा दिइरहेका छौं । र, रिजल्टहरु पब्लिस्ड गरिरहेका छौँ । विश्वको जुन राम्रो हस्पिटलमा रिजल्ट आइरहेको छ, त्यो रिजल्ट हामीले पनि दिन सक्छौँ र रिजल्ट पनि दिइरहेका छौँ ।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

सरकारले विभिन्न किसिमका स्वास्थ्य नीतिहरु त ल्याइरहेको छ । ढाडमा चोट लागेको, हेड इन्जुरी सम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ । स्पाइन भनेको शरीरको त पिलर हो नी । यदि, मेरुदण्ड बलियो भयो भने मात्रै कुनै पनि मान्छे आफ्नो काममा अगाडी बढ्न सफल हुन्छ । 

स्कोलीओसिस सर्जरीको लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन । तर,  ढाडमा चोट लागेकोलाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ । र, हात खुट्टा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँ भत्ता दिने गरेको छ ।

ढाडको बाँगोपन हुन नदिन के गर्नु पर्छ ?

जन्मदेखि नै बाँगोपना हुन सक्छ । आमाको पेटमा हुँदाखेरी नै जुन हिसाबमा हड्डी बन्नु पर्ने हो त्यो नबन्न पनि सक्छ । इडियोप्याथिक (कारण नै थाहा नभएर बाँगोपना हुने) ले पनि हुनसक्छ । चोटपटक लागेर पनि ढाड बाँगो हुनसक्छ । 

चोटपटक लाग्नबाट बच्ने उपायहरु अपनाउनु पर्छ । ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ । रुख चढ्दा ख्याल गर्नु पर्छ । ढाडमा केही समस्या भएको छ भने र बाँगोपना हुन सक्ने देखिएको छ भने समयमै उपचार गराउनु पर्छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:३८
Weather Update