News Griha :: न्यूजगृह
जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

जुम्ला— जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको संक्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापा जानकारी दिए ।

जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । एक हजार सात सय पशुलाई उपचार गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।

अहिले कार्यालयमा प्रदेशबाट थप औषधि आएकाले स्थानीय तहलाई लिन परिपत्र गरिएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । सो संक्रमणबाट पशुहरु धमाधम बिरामी हुन थालेको तिला गाउँपालिका–१ स्थानीयवासी नौसेर रावतले जानकारी  दिए ।

जुम्लालगायत कर्णालीमा लम्पी स्किनबाट आठ हजार सात सय ९३ पशुचौपायाको मृत्यु भएको छ ।  दुई लाख १७ हजार एक सय ३४ पशुचौपाया उक्त रोगबाट संक्रमित भएको कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले देखाएको छ ।

लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायत जिल्ला बढी प्रभावित छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २१:३६
Weather Update