News Griha :: न्यूजगृह
हेलिकोप्टरमार्फत खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार

सङ्खुवासभा— सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ ।

पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।

सुत्केरी खड्का र बच्चाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । सुत्केरी भएको १५ मिनेटपछि  बच्चाको फोक्सोमा समस्या देखिएको थियो ।

बच्चालाई मुटु र फोक्सोमा समस्या भएपछि जिल्ला अस्पतालमै केही बेर आइसियु र तीन घण्टा भेन्टिलेटरमा राखिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप सिलवालले जानकारी दिए ।

बच्चाको मुटु र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको मेडिकल अधिकृत सिलवालले बताए । सुत्केरी खड्काको साेमबार बिहान साढे १० बजे शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २१:३५
Weather Update