News Griha :: न्यूजगृह
‘मल कारखाना स्थापनाका लागि हतारमा निर्णय गर्दा लगानी फस्ने सम्भावना छ’

काठमाडौं— अर्थसचिव अर्जुनप्रसाद पोखरेलले रासायनिक मल कारखाना स्थापनाका लागि हतारमा निर्णय गर्दा लगानी फस्ने सम्भावना रहेको बताएका छन् ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै सचिव पोखरेलले मुलुकमा उपलब्ध साधन र स्रोतले जनताका सबै क्षेत्रका आवश्यकता एकै पटक समाधान गर्न सम्भव नरहेको बताए ।

रासायनिक मलका लागि मुलुकको आवश्यकतालाई हेरेर सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेकाले मल उत्पादनको सम्भावना रहेको पनि बताए ।

उनले धेरै पटक मल उत्पादनको विधिको विषयमा छलफल गरेको र अहिलेसम्म प्राकृतिक ग्यास र वाटर इलेक्ट्रो लाइसिस्स विधिबाट मात्रै मल उत्पादन हुने गरेको बताए ।

उनले नेपालमा कारखाना उपयुक्त हुने वा नहुने भन्ने राम्रोसँग अनुसन्धान नगरीकन हतारमा निर्णय गर्दा राज्यको लगानी जोखिममा पर्ने सम्भावना रहेको बताए ।

उनले भने,‘रासायनिक मल कारखाना स्थापनाका लागि हतारमा निर्णय गरौं भने राज्यको लगानी लाग्छ तर मल उत्पादन र आपूर्ति हुन सक्दैन । कति बेला मलको टेण्डर गर्ने,कति बेला मल ल्याउने र जनतालाई दिने भन्ने अहिलेको आवश्यकता हो । अहिले सरकारले गर्नसक्ने त्यति मात्रै हो । जैविक,अर्गानिक र प्रारम्भिक मलको वैकल्पिक उत्पादन गरी त्यसमा किसानलाई प्रोत्साहन गर्ने गरी सरकार जान सक्नुपर्छ । एउटा किसानलाई आफ्नो घरमा जैविक मल बनाउन सक्ने विधि सिकाउन सक्यौ भने समग्र मलको आपूर्तिमा युरिया मलको भार घट्न जान्छ ।’

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:४९
Weather Update