
भोजपुर— पूर्वी पहाडी जिल्ला भोजपुरमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा संक्रमितको संख्या बढ्न थालेको हो ।
जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेंगुबाट भोजपुरमा ३६ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा संक्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एक जना डेंगु संक्रमित छन् ।
जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
पालिकाभित्र दुई जनामा संक्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।