
काठमाडौं— सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा.प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा अर्थमन्त्री महतलाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।
धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवम् संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा ६ मा कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।
कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
सञ्चालकले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको हो ।
आफूसँग रहेको शेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
चेम्बरको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री डा.महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताए ।