
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् ।
लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आइतबार बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवम् अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए ।
प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए ।
उनले बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणमा मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको बताए ।
समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको समृद्धि र विकासमा योगदान पुर्याउन आग्रह गरे ।
सो अवसरमा कार्यसम्पादन प्रतिवेदन पेस गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले गत आवमा बोर्डको म्यान्डेट, बोर्डको व्यावसायिक योजनासहितको रणनीतिक योजना तथा नेपाल सरकारको बजेट तथा कार्यक्रमको अधिनमा रही सम्पन्न भएका कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको बताए ।
उक्त प्रतिवेदनमा चार खम्बे रणनीतिबमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीअन्तर्गतका कार्य प्रस्तुत गरिएको छ । प्रत्येक कार्यलाई परिणाममा आधारित सूचक एवम् संक्षिप्त व्याख्यासहित राखिएको छ ।