
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुति ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले वीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको बताए ।
उनले भने,‘सीमित स्रोतसाधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ,कुनै पनि गरिब एवम् विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ ।’
सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्याउने बताए ।