News Griha :: न्यूजगृह
के हो हेपाटाइटिस, कसरी बच्ने ?

काठमाडौं— आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तर्क्रिया आयोजना गरी मनाइँदै छ ।

कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल) का अध्यक्ष एवम् वरिष्ठ कलेजोरोग विशेषज्ञ डा.सुधांशु केसीले विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताए ।

‘नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ’,डा.केसी भने ।

के हो हेपाटाइटिस ?

हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका संक्रामक भाइरस र गैरसंक्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।

कलेजोरोग विशेषज्ञ डा.दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।

भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक संक्रमणबाट समेत सर्दछ । सीको संक्रमण धेरै लागुपदार्थ दुर्व्यसनीमा फस्नेमा देखिने गरेको छ ।

हेपाटाइटिस बी संक्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ । चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस संक्रमित  मौन हुने गर्छ ।

हेपाटाइटिसबाट कसरी बच्ने ?

चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।

हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा.शर्माको सुझाव छ ।

उनी भन्छन्,‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ ।’ उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।

हेपाटाइटिसको उपचार

‘आफैं निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ’,डा.केसी भन्छन्,‘बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।’

डा.केसी जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताउँछन् । उनले अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहोर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैं निको हुन्छ । उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी संक्रमण हुने गर्छ ।

हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनी भन्छन्,‘औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।’ सी र एचआइभीको संयुक्त संक्रमण हुने बिरामीलाई सरकारले नि:शुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ ।

हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ ।

चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०७:१९
Weather Update