जनकपुर— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले काम गरिरहेको बताएका छन् ।
प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को बिहीबार धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
उनले स्वास्थ्य मन्त्रालयले पहिलोपटक निजी तथा सरकारी अस्पतालमा ३ हजार २५ वटा शैय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम गरेको बताए ।
मन्त्री बस्नेतले निःशुल्क शैय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए ।
उनले संविधानले नै जनताको लागि ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताए ।