
काठमाडौं— पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।
काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ ।
भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाकी संस्थापक अध्यक्ष दुर्गा खतिवडाले गुनासो गरिन् ।
उनका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको बताइन् ।
इलाम नगरपालिकावडा नं १२ की तुलसा रायाले यही वर्ष बारीमा फलेका करिब एक ट्रक फर्सी नबिकेपछि गाईवस्तुलाई खोले खुवाएको बताइन् ।
‘बारीमा फलेका फर्सी, इस्कुस, बिहीजस्ता तरकारी बिक्री हुँदैनन्’,रायाले भनिन्,‘त्यसै कुहिएर खेर जान दिनुभन्दा गाईवस्तुलाई खुवाउनु राम्रो हुन्छ जस्तो लाग्यो ।’