News Griha :: न्यूजगृह
एक क्रेट अण्डाको मूल्य कति ?

चितवन— लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए ।

पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ ।

पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट चार सय ५० तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ हुन आउँछ ।

किसानले हाल १५ पाएका छन् । उनको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० पर्दछ ।

कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ सम्म पर्ने बताए ।

सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा एक सय ६५ खर्च हुने उनको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत  १४ रुपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ । उनले भने,‘बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य १७ पर्न आउँछ ।’

अबको समयमा केही हदसम्म अण्डाको मूल्य बढेमा किसानले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:५१
Weather Update