News Griha :: न्यूजगृह
अनुगमनपछि स्वास्थ्य मन्त्रीले भने— फार्मेसी सञ्चालकले चरम लापरवाही गरेको देखियो  

काठमाडौं— उपत्यका लगायतका विभिन्न जिल्लामा सञ्चालनमा रहेका फार्मेसीमा औषधि बिक्री वितरणमा लापरवाही भएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको संयुक्त टोलीले ७७ वटै जिल्लामा आजबाट स्थलगत निरीक्षण र अनुगमन सुरु गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँगै २० ओटा टोलीले सोमबार उपत्यकाको तीनै जिल्लामा सञ्चालनमा रहेका विभिन्न फार्मेसीको स्थलगत अनुगमन गरे । स्थलगत अनुगमनको क्रममा फार्मेसी सञ्चालकले औषधिको बिक्री वितरणमा चरम लापरवाही गर्दै आएको जनगुनासोलाई पुष्टि गरेको छ । 

अनुगमनको क्रममा फार्मेसी दर्ता नै नगरी सञ्चालन गरेको, दर्ता नभएको औषधि खुलमखुल्ला बिक्री वितरण गरिँदै आएको, चिकित्सकको प्रेस्क्रिप्सन बिना बेच्नै नपाइने औषधि बेचेकोदेखि म्याद गुज्रिसकेको औषधिको बिक्री वितरण गर्ने सम्मको लापरवाही गरेको पाइएको छ । मन्त्री बस्नेतले अनुगमनको क्रममा भेटिएका लापरवाहीकर्ता  कानून अनुसार कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।  

mediacal anugaman1690193335.jpg

उनले भने, ‘अनुगमनको क्रममा धेरै लापरवाही भएको पाइएको छ । एक त म्याद गुज्रिएको औषधि  बेच्दा बिलमा लेख्दा स्पष्ट नलेख्ने गरेको पाइयो, बिलमा लेख्दा सानो अक्षर नबुझ्ने खालको लेख्ने गरेको पाइयो ।त्यसमाथि दर्ता नै नभएको औषधि पनि बिक्री भैरहेको पाइयो ।’

मन्त्री बस्नेतले आज दिनभरीको उपत्यका र जिल्लामा भएका टोलीको अनुगमनको निष्कर्षबाट मापदण्ड विपरीतका औषधि बिक्री वितरण गर्दै आएका फार्मेसी सञ्चालकलाई आवश्यक सचेत गराउने देखि कसुर हेरेर कारवाहीको प्रकृयामा जाने बताएका छन् । 

दुई ओटा फार्मेसीको अनुगमन गरेपछि मन्त्री बस्नेतले भने, ‘काठमाडौं, ललितपुर र भक्तपुरमा २० ओटा टोलीले स्थलगत अनुगमन गरिरहेको छ । मैले दुई ठाउँमा हेरेर तेस्रो ठाउँको अनुगमनमा आइपुग्दा म्याद गुज्रिएको औषधि बेच्न राखेको, बिल बनाउँदा स्पष्ट नलेख्ने गरेको, कतिपय बेच्नै नपाउने औषधि बेच्ने गरेको लगायतका त्रुटि भेटिएको छ । आज दिनभरिको उपत्यकामा गरेको अनुगमनको रिपोर्टको आधारमा औषधि व्यवस्था विभाग सहितको टिमले यसलाई हेरेर कानूनी प्रकृयामा जानुपर्ने, सचेत गराउनुपर्ने कुरामा उपत्यकाको सन्दर्भमा निरीक्षण सकिएपछि आजै हेरिन्छ । उपत्यका बाहिरको सन्दर्भमा रिपोर्ट आएअनुसार जिल्ला जिल्लालाई कारवाहीको प्रकृया अगाडि बढाउने, सचेत गराउने कार्य सुरु हुन्छ ।’ 

mohan bahadur basnet medical1690192175.jpg

 ७७ ओटै जिल्लामा सञ्चालनमा रहेका विभिन्न फार्मेसीमा सोमबारबाट मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रुपमा अनुगमन र निरीक्षण सुरु गरेको हो । जनस्वास्थ्यमाथि भैरहेको ज्यादती र लापरवाहीलाई नियन्त्रण गर्न मन्त्री बस्नेतले यो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि गरेका छन् ।  

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:५१
Weather Update