
काठमाडौं— नेपाल क्यान्सर केयर फाउण्डेसनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छन् ।
सोमबार जापान सरकारको सहयोगमा निर्मित ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गर्ने आयोजना हस्तान्तरण समारोहमा महासचिव घिमिरेले क्यान्सरको उच्च जोखिम रहेको तत्थ्यांक प्रस्तुत गरिन् ।
उनले भनिन्, ‘नेपालमा क्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरूमा हुने पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर अहिले सबैभन्दा उच्च विन्दुमा छ ।’
संस्थाले मात्रै २५ हजार भन्दा धेरै महिलाहरूको पाठेघर मुखको क्यान्सर र १७ सय बढीमा स्तन क्यान्सर स्क्रिनिङ गरेको तत्थ्यांक उल्लेख गर्दै उनले नेपालको पूरा आँकडा हेर्नै नपर्ने गरी क्यान्सरले भयावहरूप लिएको धारणा राखिन् ।
‘२५ हजार भन्दा धेरै महिलाहरूको पाठेघर मुखको जाँच तथा १७ सय बढीको स्तन क्यान्सर सम्बन्धी जाँच भैसकेको छ । विद्यमान क्यान्सरको भयावह स्थिति जान्नलाई हामीले नेपालको पूरा आँकडा हेर्नै पर्दैन, सुरुवाती चरण देखि यो संस्थामा आएको आँकडा हेर्दा २८ जना महिलामा पाठेघरको र ७ जनामा स्तन क्यान्सर भेटिसकेको छ,’ घिमिरेले भनिन् ।
त्यस्तै उनले संस्थामा जाँच गराउन आएका मध्ये ६ सय १० जना पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावित महिलाहरूलाई उपचार मार्फत निको गराएको भन्दै नेपालमा महिलामा देखिने दुवै क्यान्सरको रोकथामका लागि सबै लाग्नुपर्ने धारणा राखिन् ।
नेपालको लागि जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (जीजीपी) अन्तर्गत जापान सरकारको सहयोग द्वारा ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गरिएको थियो ।
सन् २०१९ को अन्त्यमा यो परियोजना पूरा भएपछि २०२० मा हस्तान्तरण गर्ने तयारी गरिरहँदा कोभिड लगायतको कारण रोकिएको थियो । तर, फाउण्डेसनले सो मेसिन यस अघि नै सञ्चालनमा ल्याइसकेको छ । औपचारिकता पूरा गर्न आज कार्यक्रम गरिएको हो ।