News Griha :: न्यूजगृह
नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छ : अर्थमन्त्री महत
तस्बिरः भरत के.सी. / रासस

रूपन्देही— अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् । 

बुटवलमा सोमबार पत्रकारसँग उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताए । महतले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए । उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए ।

उनले वित्तिय नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि उल्लेख गरे । महतले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गरे । उनले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए ।    

उनले भने, ‘हिजोमात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ । त्यही खुकुलो आएको छ । अरु पनि केही पहलहरू भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ । लगानीको वातावरण सहज बनाउँछ ।’ 

अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरे । मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताए । उनले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने बताए । 

‘यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ । कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन कटिवद्ध छ । त्यही अनुसार काम भइरहेको छ । छानबिनका लागि अनुन्सन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासिनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भइ कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ,’ उनले भने । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:२८
Weather Update