
तनहुँ— तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा.विनय शाहले जानकारी दिए ।
गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप १० लाख वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदान बापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो ।
प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताए ।
उनले भने,‘प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।’
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिए ।