
मनाङ— हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो ।
मनाङका याकचौँरीलाई लम्पी स्किनबाट सुरक्षित बनाउन लम्पी स्किनविरुद्धको खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए ।
उनका अनुसार ८९ गाई, ९६ गोरु र याक, नाक (झोपा) तथा चौँरी गरी ५१ लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको छ ।
‘लम्पी स्किनको सङ्क्रमण धेरै नफैलियोस् भनेर खोप लगाउन थालिएको छ,यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ’,प्रमुख कुसुमले भने,‘लम्पी स्किन रोग नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ ।’
पशुलाई लगाउन लम्पी स्किन विरुद्धको भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको उनले बताए ।