लहान— सिरहाको लहान नगरपालिका—७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन लहान प्रादेशिक अस्पतालमा पुगे । तर अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महंगाे शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए ।
अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महंगो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् ।
उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
खोप अभावमा गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । प्रतिडोज पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले एक हजार पाँच सयदेखि दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.सुनिलकुमार कुहवाहाले बताए ।
‘दैनिक औसतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन,आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ’, कुशवाहाले भने ।
प्रदेशबाट छिट्टै खोप प्राप्त हुने आश्वासन पाएको समेत बताए । अस्पतालका अनुसार रेविजविरुद्धको खोप लगाउने बिरामीको संख्या हाल दुई सयभन्दा बढी छ ।
कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जंगली जनावरले टोकाइका कारण दैनिक औसतमा ५० जना अस्पताल उपचारका लागि आउने गरेका छन् ।