
बाँके— चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रकी प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज (मात्रा) खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीन वटा पालिकामा वितरण गरिएको जानकारी दिइन् ।
पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरुआत गरेको उनले बताइन् ।
‘पहिलो चरणमा पशु फार्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर खोप दिन सुरु गरेका छौँ,’ उनले भनिन्,‘पहिलो चरणको वितरण सकिएपछि कृषकका घरघरमा पुगेर दोस्रो चरणको खोप दिन सुरु गर्छौं ।’
बाँकेका आठ वटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म छ सयका दरले खोप वितरण गरी सकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन् । उनले बिहीबारदेखि खोप दिन प्राविधिक खटाइएको उनले बताइन् ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए ।