News Griha :: न्यूजगृह
ट्राफिक प्रहरी बाँकेले संकलन गर्‍यो दुई करोड ६२ लाख राजस्व

बाँके— जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा दुई करोड ६२ लाख राजस्व  संकलन गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

‘जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लंघन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ’, उनले भने । गत आवमा कार्यालयले सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए ।

यस्तै आव २०७९/८० मा जिल्लामा एक सय २४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार आठ सय ५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट २८ लाख ५५ हजार राजस्व संकलन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:२३
Weather Update