News Griha :: न्यूजगृह
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण— डेंगु संक्रमण भदौ र असोजमा उच्च हुन्छ

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु संक्रमण असारदेखि बढ्दै भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

उनका अनुसार असोजपछि भने डेंगु संक्रमण क्रमशः कम हुँदै जाने छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि डेंगु संक्रमण ह्वात्तै बढेको बताए ।

गत वर्ष पनि वैशाखदेखि नै संक्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च संक्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।

‘बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि डेंगु संक्रमण बढ्दै गएको छ’,उनले भने, ‘निरन्तरको वर्षा र पानीले संक्रमण अझै बढ्ने जोखिम छ ।’

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:२१
Weather Update