News Griha :: न्यूजगृह
आज पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं— मंगलबार शेयर बजार परिसूचक नेप्से ९.९१ अङ्कले वृद्धि भएको छ ।

नयाँ आर्थिक वर्ष लागेपछिको लगातार दोस्रो दिन शेयर बजारमा वृद्धि भएको हो । साताको तेस्रो दिन नेप्से परिसुचक २१५४.०७ को विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा सोमबार ४७.०७ अङ्कको उच्च वृद्धि भएको थियो ।

विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन र हाइड्रोपावरसहितको उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

मंगलबार बैंकिङ उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै उत्पादनमूलक उपसूचक १.३६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५५ प्रतिशतले वृद्धि भएको छ ।

यता होटल तथा पर्यटन उपसूचकमा १.४५ प्रतिशतले गिरावट हुँँदा विकास बैंक उपसूचक पनि ०.८८ प्रतिशतले गिरावट भएको छ । मंगलबार नेप्सेसँगै कारोबार पनि बढेको छ । सोमबारको तुलनामा कारोबार रकम करिब १ अर्ब बढीले वृद्धि भएर ३ अर्ब ५४ करोड ८८ लाख पुगेको छ ।

सोमबार २ अर्ब ५६ करोड १ लाखको कारोबार भएको थियो । मंगलबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ ।  

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:४७
Weather Update