News Griha :: न्यूजगृह
नेप्से उच्च अङ्कले बढ्यो, परिसूचक २१ सय ४४ अंकको विन्दुमा उक्लियो

काठमाडौं— नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले  वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ९५ अङ्कले उकालो लागेर चार सय चार दशमलब १० पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयर दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ रुपैयाँमा कारोबार भएको छ ।

जानकारहरूका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरूप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार चार सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार आठ सय ९९ रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सात करोड ७५ लाख १३ हजार छ सय ७२ रुपैयाँ, सोल्टी होटलको सात करोड ७३ लाख ३२ हजार दुई सय ४८ रुपैयाँ र आईजीआईप्रुडेन्सियल इन्स्योरेन्सको पाँच करोड ११ लाख ७६ हजार एक सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:०३
Weather Update