News Griha :: न्यूजगृह
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा

काठमाडौं— वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सोमबारदेखि बहिरङ्ग सेवा (ओपीडी) बिहान ८ बजेदेखि सुरु भएको छ ।

यसअघि बिहान ९ बजेदेखि ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए ।

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले  सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपीडी सेवा लिइरहेका छन् ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टर अन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपीडी सेवा सुरु गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा सुरु गर्ने निर्णण गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:२४
Weather Update