
काठमाडौं— बैंकहरुले तजबिजीमा ब्याज दर तोकेका छन् । साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले तोकेका हुन् ।
सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरकफरक देखिने भएको छ। यसअघि बैंकर्स संघले ब्याजदर तोक्थ्यो । केहीदिनअघि बैंकर्स संघले भद्र सहमतिका नाममा गर्दै आएको ब्याज दरको कार्टेलिङ खारेज भएको हो । कार्टेलिङ खारेजपछि आधाभन्दा बढी बैंकले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । केही बैंकले भने बढाएका छन् ।
यसअघि सबै बैंकको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ प्रतिशत थियो । नियामकीय प्रावधानअनुसार यसको १० प्रतिशतसम्मले घटाउन वा बढाउन सकिन्छ । यही व्यवस्थालाई टेकेर नबिल बैंकले मुद्दतीको अधिकतम ब्याज १०.४९ प्रतिशत पुर्याएको छ ।
ब्याज बढाउनेमा प्राइम कमर्सियल, एनएमबी र कुमारी बैंक पनि छन् । प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने छ। मुद्दतीमा बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबी बैंकले मुद्दतीमा फरकफरक अवधिको ब्याज दर तोकेको छ । कम्तिमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने छ । बचतमा बैंकले ५.९८ दिख ७.९८ प्रतिशतसम्म ब्याज दिने छ । सार्वजनिक ब्याजमध्ये एनएमबीले धेरै दिने घोषणा गरेको हो ।
कुमारी बैंकले अधिकतम १०.०१ प्रतिशत ब्याज दिने छ । न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने छ । बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने छ ।
राष्ट्रिय वाणिज्य, प्रभु, नेपाल एसबीआइ, माछापुच्छ्रे, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, कृषि विकास र नेपाल बैंकले घटाएका छन् । त्यस्तै, हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले स्थिर राखेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआइसी एसियाले ब्याज दरको सूचना दिएनन् ।