
काठमाडौं— चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी बजेट खर्च भएको छ ।
आर्थिक वर्ष २०७९/०८०को अन्तिम दिन आज (आइतबार) अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रुपैयाँ अर्थात १० प्रतिशतले बढी बजेट खर्च भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
योसँगै चालु आर्थिक वर्षमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको हो । चालु वर्षका लागि विनियोजन गरिएको रकम मध्ये कुल ७९ प्रतिशत खर्च भएको राष्ट्र बैंकले जनाएको छ ।
यो वर्ष १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो । गत जेठ १५ गते गरिएको संशोधित अनुमानको अनुसार यो खर्च ९५ प्रतिशत हो ।
संशोधित अनुमानमा १५ खर्ब ५ अर्ब खर्च गर्ने लक्ष्य राखिएको थियो । यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यो वर्षको लागि छुट्याइएको चालु खर्च ११ खर्ब ८३ अर्बको तुलनामा यो ८५ प्रतिशत हो ।
जेठ १५ मा गरिएको संशोधित अनुमानको तुलनामा ३७ अर्ब कम खर्च भएको तथ्याङ्कले देखाएको छ । कुल खर्चमध्ये असार महिनामा मात्रै १७ प्रतिशत खर्च गरेको सरकारले पुँजीगत खर्चमध्ये ३४ प्रतिशत यही महिनामा खर्च गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार आर्थिक वर्षको अन्तिम दिन आज सरकारी कुनै पनि भुक्तानी गर्न नपाइने व्यवस्था छ ।
सोही अनुसार महालेखाले भुक्तानी दायित्व अन्तरगत शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० अनुसार हिसाब मिलान गर्ने तथा खर्च लेखी राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकासा दिइने छैन भनिएको छ ।