News Griha :: न्यूजगृह
एमालेको वहिष्कारबीच सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी— सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिबार राति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

प्रदेश सभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो ।

सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए । बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

यस बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्यमात्र उपस्थित थिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०६:३५
Weather Update