
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।
उनले हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताए । उनले समग्र ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा दशक’ घोषणा गरी अगाडि बढ्ने गरी गृहकार्य गरिरहेको जानकारी दिए ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताए ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीले मन्त्रालयमा मुलुकको अर्थतन्त्र र ऊर्जालगायतका विषयमा छलफल गरेको थियो ।
परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरूपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।