News Griha :: न्यूजगृह
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको बताए । 

आवश्यकताको आधारमा ऋण लिनुपर्ने उनको भनाइ छ । उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउने गरी ऋण लिनुपर्नेमा उनले जोड दिए ।

सांसदको प्रश्नमा अर्थमन्त्री महतको जवाफ :‘हामीले जुन ऋण उठाइराखेका छौँ । त्यो हाम्रो आवश्यकता अनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ । हामीले सोच्नुपर्ने चाहिँ के हो भने कति ऋण लियौँ भन्ने भन्दा पनि त्यो ऋण कहाँ खर्च ग¥यौँ ? कसरी खर्च ग¥यौँ ? त्यो महत्वपूर्ण कुरो हो । त्यसमा हामी गम्भीर हुनैपर्छ र कतिपय अवस्थामा पछिल्लो समयमा पनि हामीले लिएको ऋण उपयुक्त ठाउँमा खर्च भएन । हाम्रो चासो र चिन्ता हुनुपर्ने त्यो विषय हो भन्ने मलाई लाग्छ । त्यसकारण अहिले हामीले ऋण लिने कुरा गर्दाखेरि विदेशी दाता होस्, या आन्तरिक बैंकहरूबाट राष्ट्र ऋण उठाउने कुरा होस् । यसलाई प्राथमिकताका साथ हामीले उठाएका छौँ । किन लिने र कहाँ खर्च गर्ने ? त्यसको प्रतिफल कसरी सुनिश्चित गर्ने ? त्यसमा हामी गम्भीर हुनुपर्छ । हामीले उत्पादन बढाउने हिसाबले ऋण लिनुप¥यो भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्छ ।’

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते सोमबार दिनको १ः०१ बजे बस्नेगरी बोलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:००
Weather Update