News Griha :: न्यूजगृह
सफा हिमाल अभियान सुरु 

काठमाडौं— सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सुरु भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्माले अभियानका लिडरहरूलाई झण्डा हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन् ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी १०२ वर्षदेखि थुप्रिएको करिब ३५ हजार केजी फोहाेर संकलन लक्ष्य लिइएको छ  ।

अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहोर संकलन गरिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले भौगोलिक विकटता, हावापानीमा समस्या र चुनौतीपूर्ण अभियान हुँदाहुँदै पनि सहभागी भएकोमा अभियानमा फ्रन्ट लाइनमा खटिने सबैलाई बधाई दिए ।

‘सेनाको जनसंख्याको १० प्रतिशतले हिमाल सफाइमा खटिदै आएको छ । यस्ता काममा स्थानीयलाई नै अझ बढी सक्रिय रहन प्रेरणा दिन पाए अभियान झन् सफल हुने थियो,’ शर्माले भने ।

हिमालयलाई बचाउने प्रयास भन्ने मूल विषयका साथ अभियान संचालन भएको हो । सेनाले अभियानको लागि ८ करोड ३० लाख बजेट पाएको छ । सेनाको तर्फबाट ३२ जना, शेर्पा जनशक्ति ४५ र अन्य २० जना गरी कुल ९७ जना अभियानमा प्रत्यक्ष सहभागी हुनेछन् ।

सेनाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान संचालन गर्दै आएको छ ।

यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट २७ हजार छ सय ७१ किलो फोहाेर संकलन भएको थियो ।

विश्व वातावरण दिवस अर्थात् जुन ५, (जेठ २२) मा अभियान समापन हुनेछ । उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:४९
Weather Update