News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बजेट नभए हिमाल सफा हुन्छन् ?
सफा हिमाल अभियान २०२२ । फाइल फोटो

काठमाडौं — हिमाल सफा गर्ने जिम्मा पाएको नेपाली सेनाले गत वर्ष झैँ यसपालि  पनि ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत चौथो संस्करण चैत १४ देखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु गरि ४ वटा हिमालबाट ३३ दशमलव ८७७ टन फोहोर संकलन गरिएको थियो ।

गत वर्ष जस्तै सरकारले योपटक ८ करोड ३० लाख बजेट हिमाल सफा गर्न छुट्याएको छ । यो बजेट अभियानका लागि अपुग हुनसक्छ । किन भने आवश्यक बजेट उपलब्ध नहुँदा सेनाले गत वर्ष लक्ष्यअनुरुपको फोहोर संकलन गर्न सकेन ।

फोहोर संकलनका लागि सेनालाई १२ करोड ९६ लाख ७० हजार ३७२ बजेट आवश्यक भएकोमा सरकारले ८ करोड ३० लाख मात्र बजेट उपलब्ध गराएको थियो । यो वर्ष पनि सेनाले सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण गरि ४ वटा हिमालबाट कुहिने र नकुहिने गरी ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ ।  सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० हजार टन फोहोर संकलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले तीन वटा टोली बनाइ सफा हिमाल अभियान सञ्चालन हुने बताए ।

Prabhu Bank

safa himal aviyan 2165183037616791994201679239822.jpg

सेनाका अनुसार, हिमाल सफा गर्दा सबभन्दा ठूलो चुनौती शव ल्याउन हो । एउटा शव निकाल्न मात्रै २० देखि २५ लाख रूपैयाँसम्म खर्च लाग्ने सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ । सन् १९२० बाट हिमाल आरोहण सुरु भएको थियो । तर, सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै हिमाल आरोहणमा पर्वतारोहीको आकर्षण बढ्यो ।

योसँगै हिमाली क्षेत्रमा फोहोर बढ्दै गयो । हिमालमा फोहोर हुन नदिन कानुन पनि बनाइएको छ । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ मा पर्वतारोही दलले पर्वतारोहण सम्बन्धी जानकारी लिनुअघि फोहोरमैला व्यवस्थापनका मन्त्रालयमा धरौटी राख्नुपर्ने, फोहोरमैला व्यवस्थापन गरिएको प्रमाण मन्त्रालयमा पेस गर्नुपर्ने लगायत कुरा उल्लेख छ ।

त्यसैगरि, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) पनि कानुनी व्यवस्था गरिएको छ । यस समितिले पर्वतारोहीले आरोहण गर्दा प्रयोग गर्ने सम्पूर्ण सामानको निरीक्षण गरेर रिपोर्टमा राख्ने र फोहोर संकलन र व्यवस्थापनको काम गर्छ ।

safa himal aviyan 1165183037716791994581679239848.jpg

तर पर्वतारोहीले हेलिकप्टरबाट ढुवानी गरेर लैजाने सामानको रेकर्ड कतै उल्लेख हुँदैन । सन् १९५३ हिलारी र तेन्जिङको सफल आरोहण यता मात्रै सगरमाथामा करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको विज्ञहरु बताउँछन् । तर हिमालमा फोहोर कम भएको छैन । यसले हाम्रा सेता हिमालको चमक पनि हराउदै गएको छ । झन् यसपालि हिउदमा हिमालमा कम हिउँ परेको छ । त्यसको असर कस्तो होला ?

जनशक्ति चयन 

प्रकृति र पर्यावरण संरक्षण गरी विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको कार्यक्रमअन्तर्गत सन् २०१९ देखि सेनाले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको सेनाले जनाएको छ । अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित ९, अन्नपूर्णमा सह—सेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन् ।

himal-chaddai-sena-scaled16791993861679239851.jpg

यसअघि सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्गा हिमालबाट कुहिने सात हजार एक सय ५७ र नकुहिने ३३ हजार आठ सय ७७ केजीसहित दुई वटा मानव कंकालसमेत सेनाले संकलन गरिएको थियो । यस्तै, सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट  २७ हजार छ सय ७१ किलो फोहोर संकलन भएको थियो भने सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर संकलन गरिएको थियो ।

सेनाको नेतृत्वमा अभियानमा पर्यटन र  वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ ।

एसपीसीसी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रको समेत अभियानमा सहकार्य हुनेछ ।

अभियानअन्तर्गत संकलन गरिएका पुनः प्रशोधन गर्न सकिने फोहोर काठमाडौं ल्याइने गरिएको छ । कुहिने फोहोर भने स्थानीय निकायसँगको सहकार्यमा सोही क्षेत्रमा व्यवस्थापन गरिँदैआएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:२७
sagarmatha cementsagarmatha cement
Weather Update