News Griha :: न्यूजगृह
सुदूरपश्चिममा बजेटप्रति सत्तापक्षकै असन्तुष्टि

धनगढी— सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि जनाएका छन् ।

प्रदेश सभाको बिहीबारको बैठकमा भाग लिने सत्तापक्षीय प्रदेश सभा सदस्यले सरकारले लिएको नीतिविपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढंगले बजेट ल्याइएको भन्दै यस्तो ढंगको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए ।

उनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेश सभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए ।

प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको आरोप लगाए ।

बजेटमाथिको छलफलमा सत्तापक्षीय सदस्यहरू मेघराज खड्का, शिवसिंह ओली, प्रकाश रावल, प्रकाशबहादुर बम, तुल्सी देवकोटा, खुशीराम डगौरा थारू, लक्ष्मी विक, जानकीदेवी कुँवर र सरस्वती खड्का थिए ।

यसैगरी प्रतिपक्षी दलका धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्लले पनि छलफलमा भाग लिएका थिए । बजेट कार्यक्रममाथिको छलफल जारी छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २०:०५
Weather Update