News Griha :: न्यूजगृह
‘विद्युतीय व्यापार विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत

काठमाडौं— राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो विधेयक संसदीय समितिमार्फत व्यापक छलफल गरी परिस्कृत विधेयकका रूपमा निर्माण गर्न सांसदहरुसँग आग्रह गरे ।

‘यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन’, मन्त्री रिजालले भने, ‘संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर आएको परिस्कृत विधेयकलाई दुवै सदनबाट पारित गर्ने गरी हामीले कार्यक्रम राखेका छौं ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले राष्ट्रिय सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराए ।

राष्ट्रिय सभाको अर्को बैठक यही असार २९ गते बिहान ११:१६ बजे बस्नेछ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:२०
Weather Update