News Griha :: न्यूजगृह
काजमा बस्ने डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत 

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने उनले दरबन्दी बाहिर जिल्लामा हुने तर, स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम रहेको बताए । ‘मलाई चाहिँ धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन्,’ उनले भने, ‘यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा चिरफार गरेर नै छाड्छौँ । थिति बसाल्छौँ ।’

स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म, स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा डाक्टरहरूको पहुँच पुर्‍याएर नै छोड्ने दृढता व्यक्त गरे । 

उनले आठ सय डाक्टरहरू मन्त्रीहरूको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । ‘आठ सय डाक्टरहरू स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन् । म जस्तै मन्त्रीहरूले राखेका हुन्,’ उनले भने, ‘मैले एक जना पनि ल्याएको छैन । कर्मचारी व्यवस्थापन कडाइका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन । अब चल्नेवाला छैन ।’

सांसदहरूको प्रश्नमा स्वास्थ्यमन्त्री बस्नेतको जवाफ

‘आठ सय डाक्टरहरू स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन् । म जस्तै मन्त्रीहरूले राखेका हुन् । मैले एक जना पनि ल्याएको छैन । कर्मचारी व्यवस्थापन कडाइका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन । अब चल्नेवाला छैन । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्नेवाला छैन । यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ । 

डडेल्धुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टर पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरू हुनुहुन्छ । सबैलाई राजधानी चाहिएको छ । 

आत्महत्या गर्ने जस्ता कुराहरू उठेका छन् । काठमाडौंमा दरबन्दी हुँदाहुँदै प्रमोशनको हिसाबले उहाँले नुवाकोट जान चाहनु भयो । नुवाकोट इच्छा लागुञ्जेल बस्नुभयो । सरकारले काज दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौँ । उहाँले ट्रमा सेन्टरमा नै चाहियो नभए आत्महत्या गर्छ भनेर मन्त्रालयमा आएर सचिवहरूलाई कराउन थालेछन् । यो सबै नाटक नौटङ्की हो । 

कडाइका साथ तपाईहरू प्रस्तुत हुनुस् । मैले म कहाँ पठाउनुस् आत्महत्या गर्न भने । त्यो कुरा सामाजिक सञ्जालमा लेखेर विरोध भइरहेको छ । 

मलाई चाहिँ धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा चिरफार गरेर नै छाड्छौँ । थिति बसाल्छौँ । संविधानलाई कार्यान्वयन गर्छौँ । आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच छैन । डाक्टरहरूको पहुँच छैन । त्यो ठाउँमा हामी पुर्‍याएर नै छोड्छौँ । त्यसको लागि मलाई सांसदहरूको साथ चाहिन्छ ।’
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:१५
Weather Update