News Griha :: न्यूजगृह
देभभरी फैलियो लम्पी स्किन

काठमाडौं— पशुमा लाग्ने लम्पी स्किन रोग मुलुकभर नै फैलिएको छ । २०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचा नगरपालिकामा पहिलोपटक लम्पी स्किन रोग पुष्टि भएको थियो ।

तर अहिलेसम्म देशका ७६ जिल्लामा लाग्ने लम्पी स्किन रोग फैलिएको पशुसेवा विभागले जनाएको हो । लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैँसीका खुट्टा सुनिने, जीउभरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन् ।

पशुसेवा विभागको एक तथ्यांकअनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढी चौपायामा रोग देखापरेको छ । झण्डै पाँच लाख निको भए पनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ ।

लम्पी स्किनको निदानका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ । तर किसानहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन् ।

समयमा पशुचौपायालाई खोपको व्यवस्था गर्नका साथै त्यसबाट प्रभावित किसानलाई उचित राहतको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् । राष्ट्रिय किसान सञ्जालको अगुवाइमा ललितपुर हरिहर भवनस्थित विभाग परिसरमा बुधबार १ घण्टा धर्ना दिएका छन् । आफ्ना मागहरूको सुनुवाइ नभए आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:५१
Weather Update