News Griha :: न्यूजगृह
गण्डकीमा रासायनिक मल मौज्दात

पोखरा— गण्डकी प्रदेशमा यस वर्ष किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डीएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए ।

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमो छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डीएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।

‘तत्काललाई मलको समस्या देखिएको छैन । अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ’,उपाध्यक्ष सापकोटाले भने,‘युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर अहिलेसम्मलाई समस्या छैन ।’

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डीएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । यीमध्ये कास्कीमा एक हजार टन, डीएपी पाँच सय टन र पोटास पचास टन आवश्यक रहेको उनले बताए ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया छ सय टन, डीएपी तिन सय टन र पोटास २१ टन आइसकेको छ । सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:४२
Weather Update