
काठमाडौं— गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शैय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
मंगलबार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदुत पार्क ते–योङले सम्झौता पत्रका हस्ताक्षर गरे । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, मध्यपुरथिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।
गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत ५ वर्ष अर्थात् सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ । ९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमी नगरपालिका र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने छ ।
सम्झौता कार्यक्रममा अर्थ सचिव पोखरेलले कोरियासँग भक्तपुरका खोखिम रहेका जनतालाई स्वास्थ्य पहुँच दिनेगरी अस्पताल निर्माण गर्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताए । उनले कोरियाको सहयोगले गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्ने बताए । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारलाई धन्यवाद दिए । उलने आयोजनालाई सफल कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधरणका लागि निकै उपयोगी हुने बताए । उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण अपेक्षा गरेको बताए । उनले उक्त सम्झौता कोरिया नेपालबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउन इच्छुक भएको बताए ।
कोइकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल नजिकको जग्गामा १५० शैय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने भएको छ ।