सोरु गाउँपालिकाले तिरेन खाजाको रकम, व्यापारीले लगाए ताला

मुगु— मुगुको सोरु गाउँपालिकाको कार्यालयमा व्यापारीले तालाबन्दी गरेका छन् ।
गाउँपालिकाको केन्द्रमा रहेको सोरुकोटका पसल तथा होटल व्यवसायीसँग गाउँपालिकाले कार्यालय प्रयोजनका लागि लिएको सामाग्री तथा खाजा खर्चको रकम भुक्तानी नपाएपछि कार्यालयमा सोमबार ३ बजेपछि व्यापारीले तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाले दर्जन बढी व्यापारीका ५० लाख बढी रकम तिर्न बाँकी रहेको जनाइएकाे छ ।
व्यापारी उब्जन बुढा भन्छन्,‘निवर्तमान जनप्रतिनिधिले कार्यालय प्रयोजनका लागि लिएको विभिन्न सामाग्रीको हालसम्म गाउँपालिकाले भुक्तानी दिएको छैन, एक लाख रुपैयाँ उठाउन बाँकी छ ।’
तर गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्पष्ट कुरा बताउन नखोजेर उक्त विषयलाई सामान्य भएको बताउँदै प्रश्नबाट भाग्न खोजे ।
शाहीले भने,‘यो विषय सामान्य हो,अरु बताउन जरुरी छैन ।’
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १०:२०