News Griha :: न्यूजगृह
उपभोक्तालाई विष सेवन गराउँदै पिरो चाउचाउ उत्पादक

काठमाडौं— बच्चादेखि वृद्धवृद्धासम्मको रोजाईमा पर्छ पिरो चाउचाउ । लकडाउनयता नेपालमा पिरो चाउचाउको उपभोग अत्यधिक बढेको छ । उत्पादक कम्पनीहरूका अनुसार नेपालमा पिरो चाउचाउको कारोबार अन्य चाउचाउको तुलनामा अत्यधिक छ ।

बजार हेर्ने हो भने सबैखाले पिरो चाउचाउको व्यापार वार्षिक ५ अर्बसम्मको छ । नेपाली बजारमा यशोदा फुड्सको करेन्ट, एसियन थाइ फुड्सको टूपीएम ब्रान्डको पिरो चाउचाउले सर्वाधिक हिस्सा ओगटेको छ । यस्तै, चौधरी ग्रुपको उत्पादन वाइवाई पिरो, पोखरा नुडल्सको उत्पादन हटपट, सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको उत्पादन गज्जबको पिरो लगायत ब्रान्डका चाउचाउ यत्रतत्र छन्  ।

चमकदार विज्ञापनमार्फत उपभोक्तालाई सकेसम्म बढि पिरो चाउचाउको उपभोग गराउने कम्पनीहरूको ध्याउन्न छ । उपभोक्ताले पनि पिरो चाउचाउ अत्यधिक रुचाइरहेका छन् । उपभोक्ताको रूचाइलाई गहिरो अध्ययन गरेर पिरो चाउचाउ उत्पादकले उनीहरूको जीवनमाथि नै खेलबाड गरिरहेका छन् । उपभोक्तालाई अस्पताल पुर्‍याएर उत्पादक अर्बपति बनेका छन् ।

यशोदा फुड्सले मात्र वार्षिक ४ अर्बसम्मको कारोबार गर्दै आएको छ । बजारमा पिरो चाउचाउको बजार जसरी विस्तार भैरहेको छ, उपभोक्ताको स्वास्थ्यमा पनि उत्तिकै समस्याहरू देखिन थालेको छ । करेन्ट चाउचाउले पिरोको नाममा अखाद्य बस्तु प्रयोग गरिरहेकोसमेत आरोप लाग्ने गरेको छ । यस्तै, फाइबर रहित मैदाबाट बन्ने चाउचाउमा विभिन्न रसायन मिसिएको अत्याधिक पिरो मसलासँग मिलाएर खाँदा उपभोक्ताको स्वास्थ्यमा गम्भिर प्रकृतिका स्वास्थ्य समस्या देखिन थालेको विज्ञहरू बताउँछन् । 

‘पिरो चाउचाउलाई खाजा र खानाको रुपमा खाइरहेका व्यक्तिहरूमा गम्भीर खालको स्वास्थ्य समस्याहरू देखिन थालेको छ । एक हिसाबले भन्ने हो भने पिरो चाउचाउको रुपमा उपभोक्ताहरूले विष खाइरहेका छन् भन्दा हुन्छ’, जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेती भन्छिन्, ‘पिरो चाउचाउ मानिसको स्वास्थ्यको लागि एकदमै हानिकारक छ ।’

विज्ञहरूका अनुसार चाउचाउमा प्रयोग हुने फाइबर रहित मैदा, मोनोसोडियम ग्लुटामेट (अजिनोमोटो), रसायन मिश्रित पिरो धुलो र फुड कलरले मानिसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछन् । ‘पाचन प्रणाली बिग्रने, पेट पोल्ने, कब्जियत हुने, पायल्स हुने जस्ता समस्याको मुख्य कारण नै पिरो चाउचाउको अत्याधिक उपयोग हो’, डा उप्रेतीले भनिन्, ‘त्यसो त खराब खानपिनले यस्ता समस्याहरू आउँछन् । यसको मतलब पिरो चाउचाउ स्वास्थ्यको लागि खराब खानेकुरामा पर्छ ।’ उप्रेतीका अनुसार पिरो चाउचाउ लगायत अन्य ‘जंक फूड’ मा प्रयोग हुने ‘मोनोसोडियम ग्लुटामेट’ ले उपभोक्तालाई ‘लत’ बसाल्दिन्छ । ‘अत्याधिक मानिसहरूमा पिरो चाउचाउको लत बस्नुको कारण पनि यही हो’, उनी भन्छिन्, ‘तर त्यो रसायनले मानिसको पेटमा धेरै समस्याहरू निम्त्याउँछ । जसले गर्दा ग्याष्ट्रिकनेपालीहरूको साझा रोग बनिसकेको छ ।’ 

अझै विशेषगरि गर्भवती र बालबालिकाको लागि पिरो चाउचाउ अत्यधिक हानिकारक भएको डा उप्रेती बताउँछिन् । ‘पिरो चाउचाउ कुनै पनि हालतमा स्वस्थकर छैन । त्यसैमाथि गर्भवती र बालबालिकाको लागि त झन् यस्ता चाउचाउ सबैभन्दा खराब छन् । त्यसैले यसको उपभोग नगरेकै राम्रो,’ उप्रेती सुझाउँछिन् । बालबालिकाको हकमा अत्याधिक चाउचाउ उपभोगका कारण कुपोषण हुने संभावना ज्यादा रहेको उनी बताउँछिन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने नेपालमा उत्पादन हुँदै आएका पिरो चाउचाउहरुले खाद्य मापदण्ड पुरा गरेको बताउँछन् । ‘चाउचाउ उत्पादनको एउटा मापदण्ड हुन्छ । र, हामीले पनि नियमित रुपमा कम्पनीहरूको उत्पादन कस्तो छ भनेर नियमन गरिरहेकै हुन्छौँ’, महर्जन भन्छन्, ‘चाउचाउ उत्पादनमा प्रयोग हुने सामग्रीहरु स्वस्थकर हुनुपर्छ भन्नेमा हामी सचेत छौँ ।’ 

सन् २०१७ मा अमेरिकी सरकारको ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’मा प्रकाशित ‘केस स्टडी’का अनुसार चाउचाउको उपभोगले कोरियाका कलेज विद्यार्थीहरुमा ‘कार्डियो मेटाबोलिक’ असर अत्यधिक देखिएको उल्लेख छ । तयारी चाउचाउ उपभोगको सन्दर्भमा कोरिया संसारमै सबैभन्दा अगाडि छ । यसरी स्वास्थ्यमा देखिने ‘कार्डियो मेटाबालिक’ असरले मानिसलाई मधुमेह (सुगर)को रोगी बनाउँछ । त्यस्तै चाउचाउको धेरै प्रयोगले मानिसमा अत्यधिक तौल, मोटोपना, फ्याटी लिभर जस्ता गम्भीर प्रकृतिका दीर्घरोगहरु निम्त्याउने सोधको निष्कर्ष छ । 

यस्तो छ चाउचाउको इतिहास
सन् १९५८ मा जापानी व्यवसायी मोमोफुकु एण्डोले तयारी चाउचाउको आविष्कार गरेका थिए । दोस्रो विश्वयुद्धपश्चात व्यापारिक रुपमा गलेको जापानमा आविष्कार भएको तयारी चाउचाउ यति लोकप्रिय भयो कि, संसारभर यसका पारखीहरु  अत्याधिक बढे ।

त्यसो त चाउचाउ संस्कृति जापान, चीन, कोरिया जस्ता मुलुकमा पहिल्यैदेखि थियो । तर कम्पनीबाटै उत्पादन गरेर बजारमा बेच्ने गरि तयारी चाउचाउ भने त्यो भन्दा अगाडि बनेको थिएन । निसिन नामक कम्पनीले तत्कालिन समयमा बजारमा ल्याएको तयारी चाउचाउ २ मिनेट तातोपानीमा राखेपछि खान मिल्थ्यो, जसको नाम थियो ‘चिकेन रामेन’ । विशेषगरि श्रम र मजदुरी गर्ने भुँईमान्छेहरुको रोजाईमा चाउचाउ पर्न थाल्यो ।

नेपालमा भने तयारी चाउचाउको उत्पादन पोखराबाट शुरु भएको हो । पोखरा नुडल्सको नाममा २०३९ सालदेखि नेपालमा तयारी चाउचाउको उत्पादन शुरु भएको हो । त्यसयता नेपालमा दर्जन भन्दा कम्पनीहरुले विभिन्न ब्राण्डमा तयारी चाउचाउ उत्पादन गर्दै आएका छन् । हाल नेपालमा दैनिक ४५ लाख प्याकेट तयारी चाउचाउ उपभोग हुँदै आएको छ । दैनिक चाउचाउको व्यापार बढ्दै गएपनि विज्ञहरुले भने खाना, खाजाको रुपमा चाउचाउ उपभोग नगर्न सुझाउँछन् ।  

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:००
Weather Update