काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार तीन प्रमुख दलका प्रमुखबीच भेटवार्ता भएपछि असन्तुष्ट भएका छन् ।
महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद् तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनी असन्तुष्ट भएका हुन् ।
‘प्रधानमन्त्रीले गम्भीर विषय बोल्नुभयो । यसबारे जवाफ दिनुपर्छ,’आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने,‘सार्वभौम प्रधानमन्त्रीले अमुक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ । त्यसको जवाफ उहाँले दिनुपर्छ ।’
उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गरे । सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको भन्दै त्यसको पनि खण्डन गरे ।
‘सभामुखलाई हामीले भन्नैपर्ने हुन्छ । एमालेले आफ्नो कुरा राख्नुभयो, त्यसपछि सोझै सत्तापक्षलाई बोल्न दिइयो,’ उनले भने,‘यस्तो गलत भाष्य स्थापित गर्न खोजियो कि रास्वपाले बोलेपछि सबै प्रतिपक्षले बोले । त्यसो होइन, रास्वपाको आफ्नै अडान मुद्दाहरू छन् । कतिपय मुद्दामा समान धारणा हुन सक्छन् ।’