
तनहुँ— तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् ।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुसी भएका हुन् ।
म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले ८६ हजार चार सय २४ अनुदान दियाे ।
उनले भने,‘गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।’ उनले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरे ।
गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ ।
गाउँपालिकाले प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ ।
म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा.विनय शाहले जानकारी दिए ।