बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।
कोभिडलगायत समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरूलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने उनको भनाइ छ ।
अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरूको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८० १६:१२