News Griha :: न्यूजगृह
कालीकोटको रुडु र रानावाडा गाउँमा तीन सयभन्दा धेरै बिरामी, एकको मृत्यु

कालीकोट— कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ । अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो ।

एक सातादेखि फैलिएको अज्ञात रोगबाट १३ वर्षीया कर्मा थापाको मृत्यु भएको छ भने तीन सयभन्दा धेरै बिरामी परेका छन् । गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा.टङ्कप्रसाद आचार्यसहितको टोली पुगेर उपचारको थालनी गरेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए ।

‘अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ’उनले भने,‘अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ ।’ रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा.टङ्कप्रसाद आचार्यले जानकारी दिए ।

‘नगर अस्पताल र जिल्ला अस्पताल चिकित्सकसहित टोलीले उपचार गरिरहेका छौँ’,उनले भने,‘रोगबाट प्रभावित व्यक्तिहरु हाम्रो सम्पर्कमा आउने क्रम जारी रहेको छ ।’ ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने डा.आचार्यले जानकारी दिए ।

‘लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुनसक्छ,’ उनले भने,‘प्रयोशशाला विधिका नमूना सङ्कलन पठाएका छौँ । त्यसको रिर्पोट आए पनि कुन रोग हो । त्यसपछि मात्र भन्न सकिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:४७
Weather Update